वीरगञ्जमा गहवा माइको दोस्रो चुनरी यात्रा हुँदै, हजारौ भक्तजनको सहभागीता हुने

31

वीरगञ्ज आनन्द पटेल।

वीरगञ्जस्थित गहवा माइस्थानमा यस वर्ष पनि भव्य चुनरी यात्रा आयोजना हुने भएको छ। दोस्रो संस्करणको चुनरी यात्रालाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको आयोजक विश्व हिन्दू परिषद् नेपालले जनाएको छ।

माइस्थान मन्दिर परिसरमा हिन्दू पत्रकार संघ नेपालको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत परिषद्ले चुनरी यात्राको तयारी, व्यवस्थापन तथा कार्यक्रमबारे जानकारी गराएको हो। हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा परिषद्का महिला पदाधिकारी तथा सदस्य सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

आयोजकका अनुसार वडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा दिउँसो २ बजे माइस्थान मन्दिर परिसरबाट चुनरी यात्रा सुरु हुनेछ। बाजागाजा सहित निकालिने यात्रामा देवीका विभिन्न स्वरूप झल्काउने आकर्षक झाँकीसमेत प्रदर्शन गरिनेछ।

गत वर्षबाट सुरु भएको चुनरी यात्रालाई यस वर्ष थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको परिषद्ले जनाएको छ। यात्राका क्रममा भक्तजन तथा सहभागीको सुरक्षालाई ध्यानमा राख्दै परिषद्का स्वयंसेवक, स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थासँग समन्वय गरी आवश्यक सुरक्षा तथा व्यवस्थापनको तयारी गरिएको आयोजकको भनाइ छ।

चुनरी यात्रामा यस वर्ष करिब १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै वीरगञ्जको धार्मिक पहिचानलाई थप बलियो बनाउने उद्देश्यले चुनरी यात्रालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.