वीरगञ्ज । एक महिनादेखि फैलिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्र २१९ जना संक्रमित रहेका छन् भने पोखरिया अस्पतालमा थप १८ जना उपचाररत भइ जिल्लाभर संक्रमितको संख्या २३७ पुगेको छ।
नारायणी अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहका अनुसार पछिल्ला तीन–चार दिनयता दैनिक २०–२२ बिरामी आउँदा, हैजा पुष्टि हुने क्रम बढेको छ। उनले दूषित पानीकै कारण संक्रमण पुनः दोहोरिएको बताएका छन्।
हालसम्म वीरगञ्ज र पोखरिया अस्पतालमा १ हजार ४५१ बिरामी भर्ना भएका मध्ये १ हजार ४२१ निको भएर घर फर्किसकेका छन् भने ३० जना अझै उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता जयमोद ठाकुरले स्थानीयले सावधानी नअपनाएसम्म संक्रमण नियन्त्रणमा आउन नसक्ने बताएर, पानी उमालेर मात्र सेवन गर्न आग्रह गरेका छन्।