वीरगन्ज युवा समाजद्वारा बिर्तामाई र कृष्ण मन्दिरमा सरसफाइ सम्पन्न
वीरगन्ज युवा समाजद्वारा बिर्तामाई र कृष्ण मन्दिरमा सरसफाइ सम्पन्न
वीरगन्ज, २९ श्रावण — वीरगन्ज युवा समाजले श्रीकृष्ण जन्माष्टमी तथा भिमसेन जात्राको अवसरमा बिर्तामाई मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा वीरगन्ज–४ स्थित बिर्तामाई र कृष्ण मन्दिर परिसरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम वीरगन्ज युवा समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिमा वडाअध्यक्ष तथा बिर्तामाई मन्दिर समितिका अध्यक्ष जगत साह कानु रहनु भयो। अन्य अतिथिहरूमा वडासदस्य जुलुम खडकी, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, लायन्स क्लबका समाजसेवी उमेश शर्मा र सुनिल श्रेष्ठ, बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता, सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मिया लगायत विभिन्न संघ–संस्था तथा स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति थियो।
सो अवसरमा वडाअध्यक्ष कानुले वीरगन्ज युवा समाजले १३ वर्षदेखि समाजमा विद्यमान कुरिती, विकृति र विसङ्गतिहरू विरुद्ध लड्दै आएको, आपत्कालमा अग्रस्थानमा रहि सेवा गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो।
अध्यक्ष थापाले समाजको मूल मन्त्र ‘परिवर्तनको लागि वीरगन्ज युवा समाज’ लाई आत्मसात गर्दै विभिन्न चाडपर्व, स्वास्थ्य शिविर, रक्तदान, असहाय सहयोग, सरसफाइ लगायतका कार्य गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा समाज तथा देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।