संस्कार, शिक्षा र सामाजिक चेतनाको सशक्त सन्देश दिँदै दी रोयल एकाडेमीको १०औँ वार्षिकोत्सव सम्पन्न
फागुन ३, वीरगञ्ज | आनन्द पटेल
वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित The Royal Academy School को १०औँ वार्षिकोत्सव कार्यक्रम शनिबार भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा पीजीदेखि कक्षा १ सम्मका नानीबाबुहरूको आकर्षक तथा सन्देशमूलक प्रस्तुतिले उपस्थित सबैको मन जितेको थियो।
सानासाना बालबालिकाले सांस्कृतिक नृत्य, सामाजिक सद्भाव झल्काउने नाटिका, आमाबाबु र सन्तानबीचको माया–प्रेम, शिक्षा र अनुशासनको महत्व जस्ता विषय समेटेर प्रस्तुति दिएका थिए। उनीहरूको आत्मविश्वास, स्पष्ट अभिव्यक्ति र मञ्च प्रस्तुतीकरणले दर्शकदीर्घा बारम्बार तालीले गुञ्जिएको थियो।

विद्यार्थीहरूले जीवनमा शिक्षाको आवश्यकता, विद्यालयको भूमिका तथा अभिभावकको माया–सहयोग किन अपरिहार्य छ भन्ने सन्देश आफ्ना सिर्जनात्मक प्रस्तुतिमार्फत प्रभावकारी ढंगले उजागर गरेका थिए। विशेष कुरा, स–साना विद्यार्थीहरूले मञ्चमै उभिएर आफ्ना साथीहरूको प्रस्तुति र त्यसको सन्देशबारे व्याख्या गर्दा कार्यक्रम झन् जीवन्त बनेको थियो।
कार्यक्रम विद्यालयका सञ्चालक ओम श्रेष्ठ प्रमुख अतिथि तथा म्यानेजिङ डाइरेक्टर सबनम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक विजया ओझैयाले राखेकी थिइन् भने सह–प्रधानाध्यापक सुमन श्रेष्ठ र सोनु दासले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।

अध्यक्षीय मन्तव्य दिँदै म्यानेजिङ डाइरेक्टर सबनम श्रेष्ठले बालबालिकाको प्रस्तुतिले विद्यालयमा नयाँ ऊर्जा र सम्भावनाको बीजारोपण भएको उल्लेख गरिन्। उनले विद्यालयको प्रगतिमा अभिभावकहरूको विश्वास र साथ सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरिन्। साथै उनले शिक्षक–शिक्षिका, कर्मचारी, गार्डदेखि सवारी चालकसम्मको कडा मेहनतकै कारण यो सफलता सम्भव भएको भन्दै खुलेर प्रशंसा गरिन्।
सो अवसरमा विद्यालयले शिक्षक, शिक्षिका, गार्ड, पियन र सवारी चालकलाई प्रमाणपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रममा स्वयंसेवकको भूमिकामा खटिएका सिनियर विद्यार्थीहरूलाई पनि खादाले सम्मान गरिएको थियो।

कार्यक्रममा सञ्चारकर्मी आनन्द पटेल, सामाजिक अभियन्ता सञ्जिता, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले यसअघि सिनियर विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम आयोजना गरी १०औँ वार्षिकोत्सव मनाएको थियो, जहाँ समसामयिक विषय—जस्तै प्रतिनिधिसभा निर्वाचन, शिक्षाको महत्व र सामाजिक उत्तरदायित्व—माथि आधारित सशक्त प्रस्तुतिहरू गरिएको थियो।

दी रोयल एकाडेमीको १०औँ वार्षिकोत्सवले बालप्रतिभाको उजागर मात्र होइन, शिक्षासँगै संस्कार र सामाजिक चेतनाको सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूले बताएका छन्।