सल्यान प्रहरी भवन निर्माणस्थलमा ठूलो परिमाणमा बम फेला, ८६ वटा विस्फोटक सहित उपकरण बरामद

38

सुर्खेत । सल्यानमा निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको नयाँ भवनको जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।

शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि गरिएको विस्तृत उत्खननका क्रममा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार फेला परेका बममध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन् । प्रारम्भिक रूपमा शंकास्पद वस्तु देखिएपछि तत्काल सुरक्षा सतर्कता अपनाइएको थियो ।

त्यसपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले थप उत्खनन गर्दा अझै खतरनाक सामग्रीहरू समेत फेला पारेको हो । फेला परेका सामग्रीमा ७ थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी सामग्री र १० मिटर फायरिङ केबल समेत रहेको प्रहरीले जनाएको छ ।

हाल उक्त क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ भने विस्फोटक सामग्रीको सुरक्षित निष्क्रियकरण र अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.