११ बोरा कपडा र नगद सहित कंचनजंघा स्कुलको कपडा बैंकलाई सहयोग

121

वीरगञ्ज, ९ असोज

कंचनजंघा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा तथा नगद सहयोग हस्तान्तरण गरेको छ।

बिहीबार विद्यालयका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा विद्यार्थी टोलीले ११ बोरा कपडा र २ हजार रुपैयाँ नगद कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो।

सो अवसरमा कक्षा १० का विद्यार्थी सुप्रीया घिमिरे, साक्षी गुप्ता, स्वेता साह, मन्नु साह, युवराज मित्तल र यश साह सहित बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सदस्य निला कुमारी राम, नवराज भट्टराई, कर्मचारी शोभा देवी लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक मोक्तानले, “हाम्रो विद्यार्थीहरूले कपडा बैंकले विगत केही वर्षदेखि गरिरहेको असहाय, विपन्न, आगलागी तथा बाढी पीडितलाई निस्वार्थ सेवा प्रदान गर्ने कार्यप्रति प्रभावित भई सहयोग गरेको हो। आगामी दिनमा पनि यसप्रकारको सहयोग निरन्तर रहनेछ,” भन्दै विद्यार्थीलाई सामाजिक उत्तरदायित्वप्रति सजग गराउने लक्ष्य रहेको बताए।

त्यसैगरी कपडा बैंकका सल्लाहकार उपाध्यायले “तपाईंसँग धेरै छ भने दिनुहोस्, छैन भने यहाँबाट लिनुहोस्” भन्ने मूल मन्त्रका साथ कपडा बैंकले विगत ६ वर्षदेखि वीरगञ्ज–८ स्थित कार्यालयमार्फत विभिन्न स्थानमा सेवा पुर्‍याउँदै आएको जानकारी दिए। उनले विद्यालयले विभिन्न समयमा सामाजिक सेवामूलक कार्य गर्दै आएकोमा आभार प्रकट गरे।

कपडा बैंकका अध्यक्ष सिंहले विद्यालयले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा सक्रिय भूमिका खेलेको र यसपटकको कपडा तथा नगद सहयोगले विद्यार्थीमा सेवाभाव र समाजप्रतिको उत्तरदायित्वबोध अझ बढाएको बताए। उनले कंचनजंघा स्कुल परिवारलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो हातेमालो निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.