३५० बिरामी र कुरुवालाई अण्डा वितरण गर्दै वीरगंजमा विश्व अण्डा दिवस मनाइयो

36

वीरगंज, २४ असोज ।

२९ औं विश्व अण्डा दिवसको अवसरमा शिवम लेयर्स फार्म प्रा.लि.को आयोजनामा तथा वीरगंज उद्योग वाणिज्य संघको सह–आयोजनामा आज वीरगंजस्थित नारायणी अस्पतालमा बिरामी तथा कुरुवाहरुमाझ अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत अस्पतालमा उपचाररत करिब ३ सय ५० जना बिरामी र कुरुवाहरूलाई पौष्टिक आहारको रूपमा अण्डा वितरण गरिएको थियो । अण्डा वितरणको उद्देश्य समुदायमा स्वस्थ आहारका रुपमा अण्डाको महत्वबारे जनचेतना जगाउने रहेको आयोजकले जनाएको छ ।

शिवम लेयर्स फार्म प्रा.लि.का सञ्चालक शिवजी प्रसाद साहले अण्डा प्रोटिनको उत्कृष्ट स्रोत भएकोले यसको सेवनले शरीरलाई सन्तुलित पोषण प्रदान गर्ने बताउनु भयो । उहाँले स्वस्थ समाज निर्माणका लागि पौष्टिक आहारको प्रवद्र्धन अत्यावश्यक रहेको भन्दै यो कार्यक्रम त्यसै अभियानको एउटा सानो प्रयास रहेको बताउनु भयो ।

संघका अध्यक्ष हरि गौतमले यस्तो सामाजिक उत्तरदायित्वमा उद्योग व्यवसायीहरू सक्रिय रुपमा सहभागी हुनु सराहनीय रहेको उल्लेख गर्दै, यसले उद्योग समुदायको समाजप्रति उत्तरदायित्व दर्शाउने बताउनु भयो ।

डाक्टर श्री कृष्ण साहले अण्डाको महत्व र सन्तुलित आहारको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेश टिबडेवाल, कार्यसमिति सदस्य अजय प्रजापती, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

विश्व अण्डा दिवसको अवसरमा “हरेक दिन अण्डा, स्वस्थ जीवनका लागि सस्तो र उत्तम आहार” भन्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.