वीरगञ्जमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

34

वीरगञ्जमा भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, बौद्ध धर्मावलम्बी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात बुद्ध वन्दना र त्रिशरण मन्त्र उच्चारणबाट गरिएको थियो। त्यसपछि माइस्थानबाट सुरु भएको शान्ति र्‍याली घण्टाघर, बसपार्क हुँदै भिसुवा डाँडामा पुगेर समापन गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले शान्ति, सहिष्णुता र मानवताको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रम संयोजक रुपेश मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए। साथै समाजसेवी जसपाल सिंह, राम बहादुर लामा, वीरगञ्ज जेसिजका निवर्तमान अध्यक्ष सरोज चौरसिया, प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. शाक्यले बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताउँदै बुद्धको करुणा, मैत्री र मध्यम मार्गले मात्र समाजमा शान्ति कायम गर्न सकिने उल्लेख गरे। उनले बुद्धलाई सम्पूर्ण मानव जातिको मार्गदर्शकका रूपमा व्याख्या गर्दै युवापुस्तालाई उनका शिक्षाबाट प्रेरित हुन आग्रह गरे।

कार्यक्रमको सञ्चालन बिपिसीका प्रोफेसर डा. अर्बिन्द श्रेष्ठले गरेका थिए। सहभागीहरूले बुद्ध जयन्तीले समाजमा शान्ति र एकताको भावना अझ मजबुत बनाएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.