महिला क्रिकेट लिग विजेता खेलाडीलाई गौतम स्कुलद्वारा सम्मान, छात्रवृत्तिमा जोड

57

वीरगञ्ज । मधेश प्रदेश क्रिकेट संघद्वारा आयोजित ‘साहिद कप मधेश महिला क्रिकेट लिग–२०८१’ का विजेता खेलाडी विद्यार्थीहरुलाई गौतम स्कुलले बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच खेलाडीहरुलाई सम्मान गरिएको हो।

गौतम माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षता तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला क्रिकेट खेलाडीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले महिला क्रिकेट खेलाडीहरुलाई हरेक विद्यालयले छात्रवृत्ति तथा प्रोत्साहनका कार्यक्रममार्फत सम्मान गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले खेलसँगै शिक्षामा समेत उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई यस्ता कार्यक्रमले थप प्रेरणा मिल्ने उल्लेख गरे।

“गौतम स्कुलले पर्सा जिल्लामै उदाहरणीय काम गरेको छ,” सिंहले भने, “यदि हरेक विद्यालयले यस्ता खेलाडीहरुलाई सम्मान गर्ने हो भने पर्सा जिल्लाले मधेश प्रदेशमै क्रिकेट क्षेत्रमा थप उत्कृष्ट पहिचान बनाउन सफल हुनेछ।”

विद्यालयका डाइरेक्टर सोनम लामाले विद्यालय

ले हरेक वर्ष खेलकुद, अतिरिक्त क्रियाकलाप तथा शिक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिसहित विभिन्न सहुलियत उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिकालाई पनि विद्यालयले आवश्यक सहयोग गर्दै आएको बताए।

डाइरेक्टर लामाका अनुसार खेलाडीहरुको उत्कृष्ट प्रदर्शन, समर्पण र खेलभावनाको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो। महिला खेलाडीहरुले हासिल गरेको सफलताले अन्य विद्यार्थी तथा युवापुस्तालाई समेत प्रेरणा दिने विश्वास विद्यालयले लिएको उनले बताए।

कार्यक्रममा विजेता खेलाडीहरुलाई सम्मान गर्नुका साथै उनीहरुको अनुभव, संघर्ष र सफलताबारे पनि चर्चा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.