नव अभियान नेपालको कार्यक्रममा महिला हिंसा, मानव बेचबिखन र सामाजिक विकृतिविरुद्ध संयुक्त अभियान चलाउने प्रतिबद्धता
जेष्ठ १३ वीरगञ्ज आनन्द पटेल। नव अभियान नेपालको आयोजनामा सहकार्य, समन्वय तथा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल पुजनमा सम्पन्न भएको छ। कार्यक्रममा सरकारी निकाय, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापाले समाजमा बढिरहेका महिला हिंसा, मानव बेचबिखन, बोक्सी आरोपजस्ता सामाजिक विकृतिविरुद्ध सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले सरकारी निकाय मात्रैले यस्ता चुनौती समाधान गर्न नसक्ने उल्लेख गर्दै सामाजिक संस्था, सञ्चारमाध्यम, प्रहरी प्रशासन र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखे।

उनले सामाजिक अभियानहरूलाई व्यवहारिक र परिणाममुखी बनाउन संस्थाहरूबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। “समाज परिवर्तनका लागि साझा प्रतिबद्धता आवश्यक छ, सबै पक्षबीचको एकता र सहकार्यले मात्र सकारात्मक परिणाम दिन सक्छ,” उनले भने।
कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि महिला हिंसा, मानव बेचबिखन, घरेलु दुर्व्यवहार तथा बोक्सी आरोपजस्ता अमानवीय गतिविधिविरुद्ध संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, सिएमसीलगायत संस्थाका प्रतिनिधिहरूले नव अभियान नेपालसँग सहकार्य गर्दै सामाजिक सचेतना र मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा समाजसेवी कमल चौगाई, मानवसेवा आश्रमका देवेश गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, क्रियासिल यूवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल लगायतले सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए।
सहभागीहरूले युवापुस्तालाई सामाजिक अभियानसँग जोड्दै जनचेतनामूलक कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले सामाजिक विकृतिविरुद्ध सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा समेत व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए भने अध्यक्षता नव अभियान नेपालकी चिफ अफिसर सरस्वती मानन्धरले गरेकी थिइन्। अध्यक्ष मानन्धरले नव अभियान नेपाल आगामी दिनमा सामाजिक न्याय, महिला सशक्तीकरण तथा मानवअधिकारका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने बताइन्।