एम्नेस्टी इन्टरनेशनलको ६५औँ स्थापना दिवसमा ८ विद्यालयका विद्यार्थी सहभागी, गौतम माविकी रित रौनियार प्रथम

20

वीरगञ्ज, १४ जेठ ।

६५औँ एम्नेस्टी इन्टरनेशनल डेको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मानव अधिकार, सामाजिक न्याय तथा बाल अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा वीरगञ्जका ८ वटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका अध्यक्ष रजनिश झाको अध्यक्षतामा क्लासिक ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “छुवाछुतको अभ्यासले मानवअधिकार र मानव मर्यादामा गम्भीर आघात पुर्‍याउँछ” तथा “बालविवाहले बालबालिकाको क्षमता र अधिकार नष्ट गर्छ” भन्ने दुई विषयमा आधारित रही ४ मिनेट समयभित्र आफ्ना विचार प्रस्तुत गरेका थिए।

प्रतियोगितामा वीरगञ्जका डिएभी स्कुल, जीवन ज्योति, गुरुकुल, गौतम माध्यमिक विद्यालय, विद्या सदन, मेरी गोल्ड स्कुल, लिटिल एन्जल्स र त्रिजुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको मूल्यांकन समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्याय र नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीले गरेका थिए।

कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका निवर्तमान सभापति प्रकाश बाहेती, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

निर्णायकहरूको मूल्यांकनका आधारमा गौतम माध्यमिक विद्यालयकी रित रौनियार प्रथम, जीवन ज्योति स्कुलकी सिधी कर्ण द्वितीय तथा गुरुकुल स्कुलकी आकृती पटेल तृतीय भएकी छन्।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित एम्नेस्टी इन्टरनेशनलको लोगो अंकित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।

निर्णायक तथा समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा मानव अधिकारप्रति चेतना वृद्धि गर्ने र सामाजिक कुरीतिविरुद्ध सशक्त आवाज उठाउन प्रेरित गर्ने बताउनुभयो।

एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका अध्यक्ष रजनिश झाले वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीहरूमा मानव अधिकार, समानता र सामाजिक न्यायका विषयमा गहिरो समझ विकसित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले बालविवाह र छुवाछुतजस्ता सामाजिक कुरीतिविरुद्ध विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.