सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न

45

वीरगञ्ज, असार ४ — मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बलको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको संयोजनमा आयोजित तालिम असार २ गतेदेखि वीरगञ्ज महानगरपालिकाको सभाहलमा सञ्चालन गरिएको थियो। तालिममा स्थानीय समुदायका ३० जना स्वयंसेवक प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

तालिमका क्रममा सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूलाई विपद्को समयमा प्रभावकारी रूपमा परिचालन हुन आवश्यक सीप र ज्ञान प्रदान गरिएको जनाइएको छ।

तालिम समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीलगायत अन्य अधिकृतहरूको पनि उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बलले यस्ता तालिमले स्थानीय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै सम्भावित क्षति न्यूनीकरण तथा जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.