फेटा गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ३९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक

42

बारा,असार ५ आनन्द पटेल — बारा जिल्लाको फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका उपाध्यक्ष निलम देवी साहले बजेट प्रस्तुतिका लागि अध्यक्ष अन्सारीलाई आग्रह गरेकी थिइन्।

गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, युवा स्वरोजगार, महिला सिपमूलक तालिम, पूर्वाधार विकास, खेलकुद प्रवर्द्धन तथा अधुरा सडक–नाला निर्माण कार्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ। बजेटले गाउँपालिकाभित्रका सातै वडामा समतामूलक विकास, गुणस्तरीय सेवा प्रवाह तथा स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा गाउँपालिकाका सातै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीहरू, नेपाल प्रहरीका सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सुशील साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रमुख अतिथि साहले समयमै नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरी विकासको मार्गचित्र सार्वजनिक गरेकोमा गाउँपालिका नेतृत्वलाई धन्यवाद दिँदै प्रभावकारी कार्यान्वयनमा जोड दिए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुनिल साहले गरेका थिए।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शिक्षा सुधार, युवालाई स्वरोजगारमूलक अवसर सिर्जना, महिलाको आर्थिक सशक्तीकरण, खेलकुद विकास तथा आधारभूत पूर्वाधार विस्तारमार्फत समृद्ध फेटा निर्माणको लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.