वीरगञ्ज महानगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने

28

 

वीरगन्ज १३ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले सहयोग रकम आन्तरिक स्रोतबाट जुटाउने निर्णय गरेको छ। जस अनुसार महानगर मातहतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने छ।

त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम सहयोग गरिने छ। महानगरमा कार्यरत कर्मचारीहरूको तलबबाट पनि मुख्यसचिव स्तरीय निर्णय अनुसार तोकिएको रकम कट्टा गरी सहयोग गरिने जनाइएको छ।

बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका भोटेकोसीका नागरिकलाई विपद्को कठिन समयमा राहत तथा पुनरुत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.