गहवा माईको चौथो विशाल रथ यात्राको सम्पूर्ण तयारी पूरा, हेलिकप्टरबाट पुष्पवर्षा गरिने
वीरगञ्ज, असार २७
मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्र श्री गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति ले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने दुईदिने धार्मिक महोत्सवका कार्यक्रम सार्वजनिक गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट विधिपूर्वक पूजा–अर्चनासहित रथ यात्राको शुभारम्भ गरिनेछ। यस वर्ष रथ यात्राको विशेष आकर्षणका रूपमा यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
सोही दिन साँझ मन्दिर परिसरमा चर्चित भजन कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना हुनेछ। त्यसपछि श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डाराको कार्यक्रम सञ्चालन गरिनेछ।
पत्रकार सम्मेलनमा समितिले रथ यात्राका क्रममा लाखौँ श्रद्धालुको सहज आवागमन र सुरक्षालाई ध्यानमा राख्दै मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा तोडफोडको काम रथ यात्रा अवधिभर स्थगित गर्न सम्बन्धित सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको जानकारी दिएको छ।
समितिले वीरगञ्जका सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी र नागरिक समाजलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै रथ यात्रा मार्गमा पर्ने घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वतलगायत सेवामूलक व्यवस्था मिलाई धार्मिक महोत्सवलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।
पत्रकार सम्मेलनमा रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समितिका अनुसार गहवा माईको रथ यात्रा धार्मिक आस्थासँगै वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको प्रतीक बनेकाले सबैलाई सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन आग्रह गरिएको छ।