सरकारी नीतिको विरोधमा देशभरका कन्सल्टेन्सी सञ्चालक आन्दोलित, वीरगञ्जमा पनि जोरदार प्रदर्शन
वीरगञ्ज। सरकारले लागू गरेको शैक्षिक परामर्श (कन्सल्टेन्सी) सम्बन्धी नयाँ नीतिको विरोधमा देशभरका कन्सल्टेन्सी सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्। सोही अभियानअन्तर्गत वीरगञ्जमा पनि शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारले तोकेको धरौटी रकम तथा अन्य केही प्रावधान अव्यावहारिक, व्यवसायमैत्री नभएको र यसले शैक्षिक परामर्श क्षेत्रलाई गम्भीर असर पार्ने बताएका छन्। उनीहरूले उक्त व्यवस्था तत्काल संशोधन वा खारेज गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले नयाँ नीतिले विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्श व्यवसाय सबै प्रभावित हुने दाबी गर्दै सरोकारवालासँग पर्याप्त छलफल नगरी नीति लागू गरिएको आरोप लगाए। उनीहरूले सरकारले व्यवसायीहरूको जायज माग सम्बोधन गर्दै संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
आन्दोलनमा सहभागीहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभए देशव्यापी आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्। वीरगञ्जको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्।