कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर वीरगञ्जमा दुई बालिकाको मृत्यु

47

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौलीमा दुई बालिका पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन्। कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय प्रभु ठाकुरका ५ वर्षीया र ३ वर्षीया छोरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान करिब ११ बजे प्रभु ठाकुरकी छोरी पुच्की ठाकुर र घघरी ठाकुर आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए। हजुरबुवा केहीबेरका लागि हजुरआमालाई बोलाउन गएको बेला दुवै बालिका खेतबाट हराएका थिए।

हजुरबुवा फर्किएपछि बालिका नभेटिएपछि परिवारले खेत, छिमेक तथा आफन्तकहाँ खोजी गरेका थिए। तर अवस्था पत्ता नलागेपछि सोमबार राति करिब ११ बजेर ५ मिनेटमा बालिकाकी आमा अन्तिमा देवीले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा जानकारी गराएकी थिइन्।

सूचना पाएपछि प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। खोजीका क्रममा मंगलबार बिहान करिब सवा ६ बजे हराएको स्थानबाट करिब ५ सय मिटर पूर्व चक्रदहमा निर्माणाधीन पुलनजिक खनिएको खाल्डोमा जमेको पानीभित्र दुवै बालिका मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.