आशुतोष चतुर्वेदीको रिहाइ माग्दै वीरगञ्जका वडाध्यक्षहरु आन्दोलित, सेवा अनिश्चितकालका लागि बन्द
वीरगञ्ज, साउन १३ ।
वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
वडाध्यक्षहरूको सामूहिक निर्णय अनुसार साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो। वडाध्यक्षहरूले संयुक्त रूपमा विरोध जनाउँदै जनप्रतिनिधिमाथि भएको धरपकड स्वीकार्य नभएको बताएका छन्।
गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि चिकित्सकीय लापरवाहीको आरोप लगाउँदै मृतकका परिवार तथा आफन्तले अस्पतालमा विरोध गरेका थिए। सोही घटनामा पीडित परिवार र प्रशासनबीच समन्वय गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको धारणा आधार बनाएर प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको बताइएको छ।
नगरवासीको हकहितका लागि आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरीले धरपकड गरेको भन्दै वीरगञ्ज महानगरका सम्पूर्ण वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। यस अघि साउन १२ गते उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न प्रशासनसँग माग गरेका थिए।
तर माग सम्बोधन नभएपछि बाध्य भएर सेवा ठप्प पार्नुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले पक्राउ परेका वडाध्यक्षलाई तत्काल स–सम्मान रिहा नगरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
वडाध्यक्षहरूले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने बताएका छन्।
सेवा बन्द भएपछि वीरगञ्ज महानगरका ३२ वटै वडाबाट प्रदान हुने सिफारिस, दर्ता लगायतका नियमित काम प्रभावित भएका छन्। यसबाट सेवाग्राही मर्कामा परेका छन् भने अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।