सर्लाहीमा कारबाट १०९ किलो गाँजा बरामद, दुई भारतीय नियन्त्रणमा

56

सर्लाही, १८ साउन । सर्लाही प्रहरीले १०९ किलो गाँजा सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कारलाई रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्। दीपक कार चालक हुन् भने अमन कारमा सवार थिए।

प्रहरीले गाँजा, कार तथा दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.