७२ जिल्लामा फैलियो डेंगु, २ हजार भन्दा बढी संक्रमित; सरकारले सुरु गर्यो तीन महिने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान
काठमाडौं, १९ साउन । मनसुन सक्रिय भएसँगै देशभर डेंगु संक्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) का अनुसार गत पुसदेखि साउन १५ गतेसम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो पाक्षिक प्रतिवेदन अनुसार वर्षायाम सुरु भएसँगै संक्रमण दर उल्लेख्य रूपमा बढेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबै भन्दा बढी ५६८ जना (२८ प्रतिशत) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३ प्रतिशत) संक्रमित भेटिएका छन्।
जिल्लागत रूपमा झापा (२०४), बागलुङ (१८०), सुनसरी (१६१), पाल्पा (११६) र कास्की (११०) डेंगुबाट सबै भन्दा बढी प्रभावित पाँच जिल्ला रहेका छन्।
बढ्दो संक्रमणलाई नियन्त्रण गर्न सरकारले ‘साउन, भदौ, असोज : डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालनमा ल्याएको छ। अभियान अन्तर्गत डेंगु सार्ने एडिस एजिप्टी जातको लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानलाई तीव्र बनाइने र समुदायस्तरमा व्यापक जनचेतना फैलाइने महाशाखाले जनाएको छ।
महाशाखाले बढी प्रभावित जिल्ला तथा स्थानीय तहमा नियमित अनुगमन गर्दै रोकथामका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देशन पनि निरन्तर प्रदान गरिरहेको जनाएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार डेंगु नियन्त्रणको सबै भन्दा प्रभावकारी उपाय लामखुट्टेको वासस्थान र प्रजननस्थल नष्ट गर्नु हो। त्यसका लागि घर, कार्यालय तथा सार्वजनिक स्थान वरपर पानी जम्न सक्ने पुराना टायर, ड्रम, गमला, बोतल तथा खुला भाँडामा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न सबैलाई आग्रह गरिएको छ।
त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, सुत्दा झुल प्रयोग गर्ने, झ्याल–ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने मलम वा रिपेलेन्ट प्रयोग गर्न पनि सुझाव दिइएको छ।
महाशाखाले उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।