भोटेकोशी बाढीपछि नेपाली सेनाले गर्यो २ हजार ६५० जनाको उद्धार
काठमाडौं, १४ भदौ । रसुवा स्थित भोटेकोशी नदीमा १० भदौको बिहान आएको बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले हालसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेंसी र मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ४६ जना चिनियाँ र ८ जना भारतीय नागरिक रहेका छन्।
शनिबार विभिन्न प्रभावित क्षेत्रबाट गरी ५५० जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। सेनाका अनुसार बाढीपछि हालसम्म स्थलमार्गबाट २०० जना र हवाई माध्यमबाट २ हजार ४५० जनाको उद्धार गरिएको छ।
उद्धार गरिएका मध्ये १२१ जना भारतीय, ७२ जना चिनियाँ, १५ जना कोरियन, ४ जना जर्मन, २ जना अमेरिकी, २ जना इटालियन र १ जना ओमानी नागरिक रहेका छन्। बाँकी उद्धार गरिएका व्यक्ति नेपाली नागरिक रहेको जंगी अड्डाले जनाएको छ।