वीरगञ्ज, २२ भदौ ।
रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन्।
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित रसुवाका परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको दुवै संस्थाले जनाएका छन्।
स्वास्थ्य सेवामा सक्रिय दुवै संस्थाले विपद्को कठिन अवस्थामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको साथमा उभिएको बताएका छन्। संयुक्त सहयोगले राहत वितरण, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै मेडिकल कलेजले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।