भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलन सहित श्रद्धाञ्जली
वीरगञ्ज, २२ भदौ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगञ्ज कपडा बैंकले दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
वीरगञ्ज–८ स्थित कपडा बैंकको कार्यालयमा सोमबार साँझ आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरिएको थियो।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, वरुण चौरसिया, हुकुम सिंह राजपुत, श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, समाजसेवी दीपक खड्गी, सुशीला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, कर्मचारी मिथलेश श्रीवास्तवलगायतको सहभागिता थियो।
कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ताले भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख व्यक्त गरे। विपत्तिका कारण देश शोकमा रहेका बेला सबै मिलेर पीडितहरूको घाउमा मलहम लगाउन र मानवताको भावनालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, अध्यक्ष सिंहले प्राकृतिक विपत्तिको यस घडीमा सबै एकजुट भएर पीडितको सेवा र सहयोगमा जुट्न आग्रह गरे। उनले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सकुशलताको कामना गरे।