केसी लामिछानेको प्रमुख आतिथ्यमा १० पत्रकार क्रियाशील युवा पत्रकार मञ्चमा आबद्ध
वीरगञ्ज, असोज ११ — आनन्द पटेल।
क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्। वीरगञ्ज स्थित क्लासिक बनक्वेट होटलमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई संस्थामा औपचारिक रूपमा स्वागत गरिएको हो।
संस्थामा आबद्ध हुने पत्रकारहरूमा अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवान प्रसाद कुर्मी (कुणाल), पुनम चौधरी लगायत रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले नवआबद्ध पत्रकारहरूलाई गम्छा तथा टीका लगाई प्रमाणपत्र प्रदान गर्दै स्वागत गरेका थिए।
लामिछानेले क्रियाशील युवा पत्रकार मञ्च नेपालले औपचारिक कार्यक्रममार्फत पत्रकारहरूलाई संस्थामा आबद्ध गराएकोमा अध्यक्ष आनन्द पटेल, निवर्तमान अध्यक्ष प्रणय साह, महासचिव राकेश कुमार साहलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए।
उनले सरकारले लोककल्याणकारी विज्ञापनमा अंकुश लगाएको विषयमा पत्रकार महासंघ आन्दोलनमा रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने गतिविधिप्रति गम्भीर आपत्ति जनाए। प्रविधिको प्रयोग बढ्दै गए पनि खोजमूलक तथा अनुसन्धानात्मक पत्रकारितामा कमी आउन नदिन पत्रकारहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारितामा देखिएका चुनौती, सञ्चारमाध्यमको आर्थिक अवस्था तथा पत्रकारहरूले भोग्दै आएका समस्याबारे धारणा राखे। उनले पत्रकारको व्यावसायिक सुरक्षा, श्रमको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरूबीच सहकार्य आवश्यक रहेको बताए।
यसैगरी प्रदेश समिति सदस्य अजय साहले क्रियासिल युवा पत्रकार मञ्च नेपालमा आबद्ध साथीहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि हातेमालो गर्ने प्रतिवद्धता जनाए।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले क्रियाशील युवा पत्रकार मञ्चको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित महत्वपूर्ण विषय उठाइएको भन्दै महासंघले संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेलले नवआबद्ध पत्रकारहरूलाई बधाई दिँदै पत्रकारहरू विभिन्न पक्षबाट दबाबमा पर्ने गरेको बताए। उनले पेशागत अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले पत्रकारितामा देखिएका चुनौती सामना गर्न एकता, सहकार्य र व्यावसायिक दक्षता आवश्यक रहेको बताए। उनले नयाँ पुस्ताका पत्रकारलाई निरन्तर सिक्दै तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे।
संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रताप श्रेष्ठले पत्रकारहरू विभिन्न प्रकारका दबाब र घेराबन्दीमा परेको बताए। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै जाँदा पत्रकारितामा नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले पत्रकारहरूले आफ्नो मौलिकता, तथ्य जाँच र खोजमूलक क्षमतालाई अझ बलियो बनाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव तथा प्रेस युनियनका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, पत्रकार जगत राई, प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महासचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी प्रकाश उपाध्याय तथा निवर्तमान अध्यक्ष प्रणय साह लगायतले शुभकामना मन्तव्य राखेका थिए।
नवआबद्ध पत्रकार पूजा महतोले नयाँ कुरा सिक्ने, अनुभवी पत्रकारहरूसँग सहकार्य गर्ने तथा समूहमा काम गर्ने उद्देश्यले संस्थामा आबद्ध भएको बताइन्।
कार्यक्रम संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राकेश कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा संस्थाका सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्रकुमार बरै, सदस्यहरू सुनिल ओझा, आदित्य शर्मा, कन्हिया बर्नवाल, उपेन्द्र पटेल, मुकेश यादव, अर्जुन पण्डित, अरुण साह, आरोहण साह लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।