तेस्रो वर्षको दुर्गा पूजाका लागि नौतन टोलमा मटकोर, गाउँवासीको उत्साहजनक सहभागिता

88

परवानीपुर, ११ असोज आनन्द पटेल ।

परवानीपुर गाउँपालिका–५ बहुअरी स्थित नौतन टोलमा यस वर्ष आयोजना हुने तेस्रो वर्षको दुर्गा पूजाको तयारी तीव्र पारिएको छ। दुर्गाको मूर्ति निर्माणका लागि शनिबार मटकोर (माटो उठाउने) कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक आस्था, आपसी सद्भाव तथा सामाजिक एकताको प्रतीकका रूपमा आयोजना गरिएको मटकोर कार्यक्रममा गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासी उत्साहपूर्वक सहभागी भएपछि नौतन टोल भक्तिमय बनेको थियो।

मटकोर कार्यक्रम समाजसेवी सञ्जु साहको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको तयारी तथा व्यवस्थापनमा सचिन गुप्ताले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दुर्गा पूजा समितिका अनुसार यस वर्ष विगतका वर्षभन्दा थप भव्य र व्यवस्थित ढंगले पूजा तथा धार्मिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। पूजा अवधिभर श्रद्धालु तथा भक्तजनलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले आवश्यक तयारीलाई तीव्रता दिइएको समितिले जनाएको छ।

मटकोर कार्यक्रममा सहभागी स्थानीयवासीले दुर्गा पूजाले धार्मिक आस्थासँगै गाउँमा आपसी भाइचारा, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

स्थानीयवासीले माता दुर्गाको आराधनाले सम्पूर्ण गाउँमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम होस् भन्ने कामनासमेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.