बहुअरी–परवानीपुर सडक जीर्ण, दुर्घटनाको जोखिम बढ्यो

67

वीरगञ्ज ।

पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक विभिन्न स्थानमा जीर्ण बन्दै गएपछि यात्रु तथा सवारी चालकले दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

सडकका विभिन्न भागमा पिच उप्किनुका साथै खाल्डाखुल्डी र असमान सतहका कारण सवारी आवागमन प्रभावित भएको छ। समयमै सडक मर्मत तथा सुधार हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ।

विशेषगरी वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी मठ अगाडिको सडकको अवस्था थप जोखिमपूर्ण बनेको छ। पिच उप्किएर सडकको सतह असमान भएपछि तीव्र गतिमा आउने सवारीसाधन अनियन्त्रित हुने र दुर्घटनामा पर्ने जोखिम बढेको स्थानीय बताउँछन्।

दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने यस सडकमा रातको समयमा सडकको बिग्रिएको भाग स्पष्ट देखिन नसक्दा जोखिम अझ बढ्ने गरेको छ। स्थानीयका अनुसार सडक निर्माण भएको केही वर्षमै विभिन्न स्थानमा पिच उप्किएर सडक जीर्ण बन्न थालेको हो।

सडक निर्माणको गुणस्तर, नियमित मर्मतसम्भार तथा अनुगमनमा प्रश्न उठाउँदै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सडकको अवस्था तत्काल सुधार नगरे भविष्यमा ठूलो दुर्घटना हुन सक्ने उनीहरूको चिन्ता छ।

दुर्घटना भएपछि मात्र मर्मत गर्ने प्रवृत्ति भन्दा दुर्घटना हुनुअघि नै जोखिमयुक्त सडकको पहिचान गरी मर्मत गर्नुपर्ने स्थानीयको माग छ। उनीहरूले सम्बन्धित सडक कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तत्काल सडकको प्राविधिक निरीक्षण गरी बहुअरी मठ अगाडिसहित जोखिमयुक्त स्थानमा पिच मर्मत तथा पुनःनिर्माण गर्न आग्रह गरेका छन्।

दैनिक हजारौँ यात्रु तथा सवारीसाधन ओहोरदोहोर गर्ने यस सडकको जीर्ण अवस्थालाई बेवास्ता गरिरहे सडकको खराब अवस्था नै कुनै ठूलो दुर्घटनाको कारण बन्न सक्ने स्थानीयको चेतावनी छ।

Leave A Reply

Your email address will not be published.