भोटेकोशी बाढीमा बेपत्ता सागर कर्णको परिवारलाई वीरगंज युवा समाजको राहत

22

वीरगंज, १० असोज ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका चालक सागर कर्णको परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेको छ।

वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मी (कोहरी), पर्सा निवासी कर्ण परिवारका मुख्य कमाउने व्यक्ति थिए। सवारी चालकका रूपमा कार्यरत रहेका बेला भोटेकोशीमा आएको भीषण बाढीमा परी उनी बेपत्ता भएका हुन्। परिवारको आर्थिक आधार नै गुमेपछि उनकी श्रीमती सरिता कर्ण, दुई साना बालबालिका तथा वृद्ध आमाबुबा आर्थिक संकटमा परेका छन्।

बाढी प्रभावित क्षेत्रमै अधिकांश राहत केन्द्रित भइरहेका बेला पर्सामै आर्थिक अभावका कारण समस्यामा परेको कर्ण परिवारको अवस्थालाई ध्यानमा राख्दै वीरगंज युवा समाजको टोली घरमै पुगेको हो। समाजले सरिता कर्णलाई खाद्यान्न, तरकारी, साबुन, सर्फलगायत सरसफाइका सामग्री तथा रु. ५ हजार १ सय नगद राहतस्वरूप हस्तान्तरण गरेको छ।

राहत हस्तान्तरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाले प्राकृतिक विपत्तिको कुनै सीमा नहुने भन्दै विपद्का कारण आफ्नै समुदायका परिवारसमेत प्रभावित भएकाले सहयोग गरिएको बताए। उनले संकटमा परेका परिवारको चुलो बलोस् भन्ने उद्देश्यले राहत प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्मा परेका नागरिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका संयोजक मनोज गुप्ताले विपद्को समयमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरे।

सो अवसरमा बेपत्ता सागर कर्णका बुवाले दुःखको समयमा वीरगंज युवा समाज आफ्नो घरसम्म आएर सहयोग गर्नुले परिवारको पीडामा मलम लगाएको बताए। उनले परिवारलाई हरेस नखान हौसला प्रदान गरेको भन्दै समाजप्रति आभार व्यक्त गरे।

युवा समाजको सहयोगले संकटमा परेको कर्ण परिवारलाई राहत मिलेको भन्दै स्थानीयले सामाजिक संस्थाको उक्त कार्यको प्रशंसा गरेका छन्।

राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सदस्यहरू सुशील सिंह, सुमन पौडेल, राज भण्डारी, पुष्पराज कोइराला, विपिन भण्डारी, काजल कोइराला, मञ्जु भण्डारी, रोजी प्रधान तथा सञ्चारकर्मी आकाश पटेलको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.