आफ्नै लगानीमा सोहरी छठघाटको स्तरोन्नतिमा जुटे वृजेस्वर प्रसाद चौधरी

65

वीरगञ्ज आनन्द पटेल।

पर्साको जगरनाथपुर गाउँपालिका–४ सोहरी गाउँस्थित छठघाटलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले स्थानीय समाजसेवी वृजेस्वर प्रसाद चौधरी आफ्नै लगानीमा घाटमा माटो पुर्ने काममा जुटेका छन्।

लामो समयदेखि सामाजिक तथा सामुदायिक कार्यमा सहयोग गर्दै आएका चौधरीले सोहरी गाउँको छठघाटलाई थोरै भए पनि व्यवस्थित बनाउने उद्देश्यले व्यक्तिगत लगानीमा माटो खसाल्ने काम सुरु गरेका हुन्।

छठघाटको व्यवस्थापनबारे केही साथीहरूबीच छलफल भएपछि उनीहरूले बुधबार बिहानैदेखि यस अभियानलाई अघि बढाउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार बुधबार दिउँसोदेखि नै घाटमा माटो पुर्ने काम सुरु गरिएको हो।

घाटमा माटो खसाल्ने काम सम्पन्न भएपछि त्यसलाई सम्याउने तथा लेभलिङ गरी व्यवस्थित बनाउने योजना रहेको चौधरीले बताएका छन्।

छठ पर्व नजिकिँदै गर्दा आफ्नै खर्चमा सार्वजनिक तथा धार्मिक स्थलको व्यवस्थापनमा देखाएको सक्रियताले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र सामुदायिक सहयोगको सकारात्मक सन्देश दिएको छ।

चौधरीले छठी माताले सबैको कल्याण गरून् भन्ने कामनासमेत गरेका छन्। जय छठी माता !

Leave A Reply

Your email address will not be published.