खनालसँग मधेशका युवाको भेट, समसामयिक राजनीति र सामाजिक रूपान्तरणबारे छलफल
काठमाडौं ।
मधेश प्रदेशका युवाहरू र नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मधेशको समसामयिक राजनीतिक, सामाजिक तथा वैचारिक अवस्थाबारे छलफल भएको छ।
काठमाडौंको डल्लुस्थित खनाल निवासमा भएको करिब एक घण्टा लामो भेटघाटमा मधेशका युवाहरूले मधेशमा विद्यमान सामाजिक विकृति, राजनीतिक चुनौती तथा आम नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्याबारे आफ्ना धारणा राखेका थिए।
छलफलका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा तथा राज्यबाट प्राप्त हुनुपर्ने आधारभूत सेवामा आम नागरिकको सहज पहुँच अझै चुनौतीपूर्ण रहेको विषय उठाइएको थियो। युवाहरूले मधेशका सामाजिक तथा आर्थिक समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक नेतृत्वले जनताको वास्तविक भोगाइलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

त्यस्तै, मधेशका युवालाई उत्पादन, रोजगारी, शिक्षा र सामाजिक रूपान्तरणसँग जोड्दै उनीहरूको क्षमता तथा सहभागितालाई राजनीतिक र सामाजिक परिवर्तनमा उपयोग गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
भेटघाटमा मधेशका युवा अनिल पटेल, मनोज गुप्ता, सन्दीप पटेल, सोनुलाल यादव लगायत सहभागी थिए। सहभागीहरूले मधेशको राजनीतिक अवस्था, सामाजिक विकृति, युवाको भूमिका र समग्र राजनीतिक दिशाबारे आफ्ना विचार राखेका थिए।
छलफलमा समाजमा विद्यमान विभेद, असमानता, भ्रष्टाचार तथा विभिन्न सामाजिक विकृतिको अन्त्यका लागि वैज्ञानिक समाजवादलाई वैकल्पिक राजनीतिक विचारका रूपमा अघि बढाउने विषयमा पनि वैचारिक बहस भएको सहभागीहरूले बताएका छन्।
मधेशका युवाहरूले जनताका वास्तविक समस्या पहिचान गरी शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र समान अवसर सुनिश्चित गर्न राजनीतिक दल तथा नेतृत्वले ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले भेटघाटलाई मधेशका समस्या, युवाको भूमिका र सामाजिक रूपान्तरणका विषयमा केन्द्रित महत्वपूर्ण वैचारिक संवादका रूपमा लिएका छन्।