हिन्दू पत्रकार संघ नेपालले दशैँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

46

वीरगञ्ज ।

हिन्दू पत्रकार संघ नेपालले बडादशैँको अवसरमा गहवामाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

वीरगञ्जको ऐतिहासिक शक्तिपीठ गहवामाई मन्दिरमा दशैँको विशेष मेलाका क्रममा नेपाल तथा छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै संघले वीरगञ्जको मुख्य चोक घण्टाघरमा शिविर सञ्चालन गर्न लागेको हो।

हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले भक्तजनलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरेको हो। बैठकमा संघका सचिव राजकुमार सराफ, कोषाध्यक्ष कन्हैया पटेल (बाबा), सदस्यहरू अर्जुन चौधरी, सन्तोष सराफ र राजु बैठालगायतको उपस्थिति रहेको थियो।

संघका अनुसार स्वास्थ्य शिविर बडादशैँको महासप्तमी र महाअष्टमीका दिन सञ्चालन हुनेछ। शिविरमा अनुभवी चिकित्सकहरूको टोलीबाट प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिनेछ भने आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ।

दशैँको मेलामा हुने अत्यधिक भीडभाडका कारण भक्तजनमा अचानक देखिन सक्ने स्वास्थ्य समस्या तथा सम्भावित आकस्मिक अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको संघले जनाएको छ।

भक्तजनलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र मेलाका क्रममा हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरिएको संघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.