दिब्य विकास स्रोत केन्द्र र एक्शनएड नेपालको साझेदारीमा जिल्ला स्तरीय लैङ्गिक हिंसा न्यूनीकरण बैठक सम्पन्न

8

वीरगञ्ज आनन्द पटेल।

पर्सामा लैङ्गिक हिंसा न्यूनीकरण, हिंसापीडित महिला तथा बालबालिकाको संरक्षण र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला स्तरीय GBV Alliance बैठक सम्पन्न भएको छ।

दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा र एक्शनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आयोजित बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC), पर्साका प्रमुख तथा जिल्ला स्तरीय समन्वय संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा पर्सा जिल्लामा विद्यमान लैङ्गिक हिंसाको अवस्था, हिंसापीडित महिला तथा बालबालिकाले भोग्नुपरेका समस्या, न्याय प्राप्तिमा देखिएका चुनौती तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका विषयमा छलफल गरिएको थियो।

विशेषगरी, लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाले आर्थिक अभावका कारण कानुनी प्रक्रिया अगाडि बढाउन र आवश्यक सेवा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। पीडितलाई न्यायको पहुँचसम्म पुर्‍याउन आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्न बैठकले सिफारिस गरेको छ।

त्यसैगरी, बेवारिस अवस्थामा फेला परेका शिशु तथा बालबालिकाको उचित व्यवस्थापन, संरक्षण र आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल गरिएको थियो। जोखिममा रहेका महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारी निकाय, सेवा प्रदायक संस्था र अन्य सरोकारवालाबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

बैठकले लैङ्गिक हिंसाका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न, पीडितमैत्री सेवा प्रवाह गर्न, कानुनी उपचारमा सहज पहुँच सुनिश्चित गर्न तथा पीडितको संरक्षणका लागि सम्बन्धित निकायबीचको समन्वय थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा र एक्शनएड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमले महिला तथा बालबालिकाको अधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण र न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारवालाबीच समन्वय तथा सहकार्य प्रवर्द्धन गर्दै आएको छ।

 

Leave A Reply

Your email address will not be published.