रास्वपा सांसद बुद्धि पन्तले सरकारी निकायका प्रमुखसँग छलफल गर्दै टुंग्याए ‘हामी आउँदै छौँ’ अभियान

61

सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धि पन्त (हरि) ले सल्यानमा सरकारी निकायका प्रमुखहरूसँग छलफल गर्दै ‘हामी आउँदै छौँ’ अभियानको फरक शैलीमा समापन गरेका छन्। असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न पालिकामा स्थानीयका समस्या र गुनासो सुनेपछि उनले सम्बन्धित निकायका प्रमुखहरूसँग छलफल गरेका हुन्।

अभियानका क्रममा सल्यानको कालिमाटी, त्रिवेणी, कपुरकोट र छत्रेश्वरीलगायतका पालिकामा पुगेका सांसद पन्तसमक्ष स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जिल्लामा जनप्रतिनिधिको अभावमा सामान्य समस्यासमेत समाधान हुन नसकेको गुनासो गरेका थिए।

त्यस्तै, स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको, अवैध क्रसर सञ्चालन भइरहेको तथा प्रहरी र प्रशासनको भूमिका अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको विषयसमेत उठाइएको थियो।

स्थानीयका गुनासा सुनेपछि सांसद पन्तले प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीलाई सम्बन्धित सरकारी निकायका जिल्ला प्रमुखहरूसँग बैठक आयोजना गर्न आग्रह गरेका थिए। सोहीअनुसार जिल्ला प्रशासन कार्यालय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी केसीको अध्यक्षतामा बैठक बसेको थियो।

बैठकमा उठेका समस्या र प्रश्नबारे सम्बन्धित कार्यालयका प्रमुखहरूले जवाफ दिएका थिए। उनीहरूले जिल्ला तहबाट समाधान गर्न सकिने समस्या तत्काल सम्बोधन गर्ने र जिल्ला तहबाट समाधान गर्न नसकिने विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए।

बैठकमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, नेपाल विद्युत् प्राधिकरणका प्रमुख नरेश दत्त रावल, भौतिक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सिद्धार्थ मिश्रलगायत जिल्ला तहका कार्यालय प्रमुखहरूको उपस्थिति थियो।

यसैबीच, अभियानका क्रममा सांसद पन्तले स्थानीय तह निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको राष्ट्रव्यापी ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियाबारे प्रशिक्षण दिएका थिए।

उनले उम्मेदवार छनोटको प्रक्रिया, क्यान्डिडेट क्लबमा आबद्ध हुने चरण तथा पार्टीको विधि र विधानका विषयमा जानकारी गराउँदै स्थानीयका विभिन्न जिज्ञासासमेत सम्बोधन गरेका थिए।

स्थानीय निर्वाचनमा पार्टीको विधि र विधानभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै सांसद पन्तले सबैलाई ढुक्क भएर संगठन निर्माणमा जुट्न र पार्टी तथा सरकारले गरेका राम्रा कामहरू जनतामाझ पुर्‍याउन निर्देशन दिएका थिए।

अभियानमा रास्वपा सल्यान जिल्ला सभापति प्रकाश नेपाली, नेताहरू रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विकलगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.