बाराका गोलीपीडित १५ वर्षीय आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजले गर्‍यो सम्पूर्ण उपचार निःशुल्क

18

वीरगञ्ज, १६ कात्तिक।

बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएका आदित्यको तत्काल जटिल शल्यक्रिया र सघन उपचार गरिएको थियो। अस्पतालले उनको सम्पूर्ण उपचार निःशुल्क गरेको जनाएको छ।

गत कात्तिक १४ गते बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई करिब एक घण्टापछि नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। अस्पताल ल्याउँदा अत्यधिक रक्तस्रावका कारण उनी रक्तस्रावजन्य आघात (हाइपोभोलेमिक शक) मा थिए। उनको रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै गोलीले पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुर्‍याएको थियो। आन्द्राका केही भाग पेटबाहिर निस्किएका थिए।

बालकको अवस्था अत्यन्तै नाजुक रहेकाले चिकित्सकको विशेषज्ञ टोलीले तत्काल शल्यक्रिया गरेको थियो। पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाह सम्मिलित टोलीले जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्राका विभिन्न भाग पुनः जोड्ने, प्वाल परेका आन्द्राको मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउनेलगायतका जटिल प्रक्रिया गरिएको थियो। साथै, दाहिने नितम्बको भागमा रहेको गोलीसमेत निकालिएको थियो।

शल्यक्रियापछि पनि आदित्यको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल तथा एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उनको उपचार अघि बढाइएको थियो।

उपचारका क्रममा रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि, भेन्टिलेटरको सहायता, चार युनिट रगत तथा दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा (एफएफपी) आवश्यक परेको थियो। चिकित्सक, नर्स तथा प्राविधिक टोलीले चौबीसै घण्टा निगरानीमा राखेर उपचार गरेका थिए।

सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्‍यो

नेशनल मेडिकल कलेजले आदित्यको आकस्मिक उपचारदेखि जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रगत, प्रयोगशाला परीक्षण तथा अन्य आवश्यक स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको जनाएको छ। उपचारका क्रममा परिवारसँग कुनै शुल्क नलिइएको अस्पतालको भनाइ छ।

बालकको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने भएपछि अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरिएको थियो।

आफन्तको अनुरोधमा गत कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।

भेन्टिलेटरमुक्त भए आदित्य, मुखबाट खाना खान थाले

काठमाडौं स्थानान्तरणपछि आदित्यको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको छ। नोभेम्बर २ सम्म प्राप्त पछिल्लो जानकारीअनुसार उनी भेन्टिलेटरबाट मुक्त भएका छन्। होसमा आएका आदित्यले आफैँ सास फेर्नुका साथै मुखबाट खाना खानसमेत थालेका छन्। उनी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।

अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइएका बालकको स्वास्थ्यमा आएको सुधारले समयमै गरिएको आकस्मिक उपचार, विशेषज्ञ शल्यक्रिया र सघन उपचारको महत्वलाई पुष्टि गरेको छ।

नेशनल मेडिकल कलेजले यस घटनामा उपचारसँगै मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ। अस्पताल परिवारले आदित्यको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

Leave A Reply

Your email address will not be published.