बालेन सरकारले फेर्यो प्रहरी नेतृत्व, कार्कीलाई नयाँ जिम्मेवारी र केसीलाई आईजीपी
काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
त्यस्तै, सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता पोखरेलले कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी मात्र परिवर्तन गरिएको दाबी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीलाई मुलुकको शान्ति सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने प्रस्ताव आएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो।
मन्त्री पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
यस निर्णयसँगै डा. मनोज कुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्।