गौतम माध्यमिक विद्यालयमा GSS Model United Nations 6.0 सुरु, १४० विद्यार्थी सहभागी, ६ कमिटीमा अन्तर्राष्ट्रिय मुद्दामाथि बहस

34

वीरगञ्ज । गौतम माध्यमिक विद्यालयको आयोजनामा विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसर पारेर ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति, अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान तथा विश्वव्यापी समस्याहरूको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन सत्र बुधबार वीरगञ्ज स्थित विद्यालयको सिनियर विङ अडिटोरियम हलमा सम्पन्न भएको हो।

उद्घाटन सत्र सम्पन्न भएसँगै आजदेखि कार्यक्रम अन्तर्गत विभिन्न कमिटीका सत्रहरू सुरु भएको आयोजकले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा गौतम माध्यमिक विद्यालय, नेशनल इन्फोटेक कलेज, रोयल एकेडेमी, डीएभी स्कुल तथा काठमाडौंका विभिन्न विद्यालयबाट गरी करिब १४० जना विद्यार्थी सहभागी भएका छन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले विद्यार्थी जीवन व्यक्तित्व विकास, ज्ञान आर्जन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण समय भएको बताए। उनले यस्ता शैक्षिक तथा अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, आत्मविश्वास र आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे।

उनले Model United Nations जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विश्वका विभिन्न देश, तिनका नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा समसामयिक विश्वव्यापी समस्याबारे बुझ्ने अवसर प्रदान गर्ने उल्लेख गरे। विद्यार्थीहरूले यस्ता कार्यक्रम मार्फत बहस, छलफल, तर्क र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने अभ्यास गर्नुपर्नेमा उनले जोड दिए।

GSS MUN 6.0 अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा केन्द्रित रहेर ६ वटा कमिटी गठन गरी छलफल तथा बहस सञ्चालन भइरहेको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै निर्धारित कार्यसूची (एजेन्डा) माथि आफ्नो धारणा प्रस्तुत गर्ने, प्रश्न उठाउने र कूटनीतिक संवाद मार्फत समाधानका उपाय खोज्ने अभ्यास गरिरहेका छन्।

कार्यक्रम अन्तर्गत DISEC कमिटीमा मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA) क्षेत्रमा देखिएको राजनीतिक तथा सुरक्षा अस्थिरताका विषयमा छलफल भइरहेको छ। त्यस्तै, FUNSC कमिटीमा ‘रणनीतिक पहिलो प्रहार (Strategic First Strike): प्रतिरोधात्मक सुरक्षा कि आक्रमण?’ भन्ने विषयलाई छलफलको एजेन्डा बनाइएको छ।

यसैगरी, UN Women कमिटीमा महिला तथा किशोरीहरूको मानव बेचबिखन र यौन शोषण रोकथामका उपायबारे छलफल भइरहेको छ। UNHRC कमिटीमा शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यको अधिकार र अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कायम गर्ने, डिजिटल अभिव्यक्ति तथा राष्ट्रिय सुरक्षाको नाममा असहमतिका आवाज दबाउने प्रवृत्ति लगायतका विषयलाई एजेन्डा बनाइएको छ।

त्यस्तै, ECOFIN कमिटीमा सार्वभौम ऋणका चुनौतीहरू सम्बोधन गर्न तथा विश्वव्यापी वित्तीय स्थायित्व प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ। IP (International Press) कमिटीमा भने खुला कार्यसूची अन्तर्गत विभिन्न विषयलाई समेटेर छलफल तथा सञ्चारसम्बन्धी अभ्यास सञ्चालन गरिएको छ।

यी ६ वटा कमिटी मार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय राजनीति, सुरक्षा, मानव अधिकार, महिला अधिकार, विश्व अर्थतन्त्र तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने अवसर पाएका छन्। यसले उनीहरूमा तार्किक क्षमता, सार्वजनिक रूपमा विचार प्रस्तुत गर्ने सीप, नेतृत्व क्षमता र सामूहिक निर्णय प्रक्रियामा सहभागी हुने क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा, लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौरज प्रधान, एल्भिन रेन्जर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, रोयल एकेडेमीका भाइस प्रेसिडेन्ट सुमन श्रेष्ठलगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विद्यालयका निर्देशक सोनम लामाका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति, अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान तथा विश्वव्यापी समस्याहरूको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा, क्षमता र विचार प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै आत्मविश्वास, सहकार्य र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामा र निर्देशक सोनम लामाको विशेष उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।

विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षलाई विशेष र स्मरणीय बनाउने उद्देश्यसहित आयोजित तीनदिने GSS MUN 6.0 ले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको छलफल, बहस, अनुसन्धान र कूटनीतिक अभ्यासको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ।

Leave A Reply

Your email address will not be published.