लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त
काठमाडौं। उज्यालोको पर्व तिहारमा सबै भन्दा बढी विद्युत खपत हुने दिन लक्ष्मीपूजाको साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन देशको कुल विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। विद्युतको अनुमानित माग भन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने देखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस वर्ष लक्ष्मीपूजा तथा तिहारभर विद्युत आपूर्ति सहज र भरपर्दो रहने जानकारी दिएका छन्।
तिहारमा घर, कार्यालय तथा विभिन्न सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलनका कारण विद्युत खपत बढ्ने गर्छ। विशेषगरी लक्ष्मीपूजाको साँझ वर्षकै उच्च विद्युत माग हुने दिन मध्ये एक मानिन्छ।