जेठ ३, वीरगञ्ज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बिहीबार प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षको बहिष्कारकाबीच सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
दुई दलको बहिष्कारबीच भएको मत विभाजनमा सोडारीले २८ मत पाउनुभएको छ भने विपक्षमा शून्य मत परेको छ । सोडारीले पाउनुभएको मत ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत रहेकाले विश्वासको मत बहुमतले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो ।
एक मत रहेको राप्रपा सुदूरमा पनि तटस्थ बसेको छ । सोडारीलाई एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र एक सांसदले मत दिएका छन् । त्यसअघि बैठक सुरु हुनेबित्तिकै कांग्रेस र नाउपाको रेशम चौधरी पक्षले विरोधसहित नाराबाजी गरेका थिए ।
विरोधका बीच सभामुख भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।