१० भदौ, वीरगंज
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देश भरिका कृष्ण मन्दिरमा भगवान् श्री कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने गरिन्छ । विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्रम बस्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको अवसरमा पर्साको वीरगन्जमा श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत गरिएको छ । वीरगंज स्थित टिबडेवाल धर्मशालामा माहील अग्रवाल परिवारको आयोजनामा श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत गरिएको हो ।
कार्यक्रममा भारतको राजस्थानबाट आएका कलाकाहरुरले आफ्नो कला प्रस्तुत गरेका थिए । साथै सो कला प्रस्तुतीमा माहिल परिवारका छोरा र बुहारीले रुक्मिणी र कृष्णका भूमिका खेलेका थिए ।
श्रीमद् भागवत् कथा तथा कृष्ण लिला प्रस्तुत कार्यक्रममा भारत लगायत बारा पर्साका सयौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा भारतको प्रसिद्ध कथा वाचिका विष्णुप्रियाले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णु आठौँ अवतारका रूपमा जन्मिनु भएको बताइन् । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको उनी बताउँछिन् ।
कुरु क्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्री कृष्णका मुखार विन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबै भन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा विरगंजको घडिअर्वा पोखरी स्थित प्रसिद्ध गीता मन्दिरमा ठूलो मेला लागेको छ ।