१९ भदौ पर्सा ,आनन्द पटेल
पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री रमेश रिजालले सम्पूर्ण महिला , दिदी बहिनीहरुलाई तीजको शुभकामना दिए।
उनले यस जगरनाथपुर गाउँपालिका ले आयोजना गरेको यो तीज विशेष कार्यक्रम महिलाहरुको लागि निकै खुशीको कुरा भएको बताए । पूर्व मन्त्री रिजालले यो तीजको पर्वले हामी सबै नेपालीको घरपरिवारमा सुख, शान्ति, समृद्धि प्राप्त होस भन्ने शुभकामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले यस पालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रम पर्सा जिल्लामै एउटा छुटै सांस्कृतिक पहिचान बनाएको बताए ।
यसका लागि उनले गाउँपालिका प्रमुख श्रीकान्त प्रसाद यादवलाई धन्यबाद दिए । साथै मन्त्री सिंहले आजको यस कार्यक्रमले महिलाहरुबिच एउटा पारिवारिक सम्बन्ध मजबुत भएको बताए । साथै उनले आउँदा दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरूको निरन्तरता दिन आग्रह गरे ।
सो कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै मेयर यादवले तीजको अवसरमा सम्पूर्ण नेपाली दिदी , बहिनीहरुलाई तीजको शुभकामना दिए र कार्यक्रम सफल पार्न उपस्थिति पार्टीका नेता कार्यकर्ता, स्थानीय बुद्धिजीवी, महिला, दिदी बहिनी , सञ्चारकर्मी समेतलाई धन्यबाद दिए ।
सो अवसरमा प्रदेश सांसद शंकर चौधरी, नेपाली कांग्रेस पर्सा जिल्लाका उपसभापति रामनारायण कुर्मी, रमेश पाण्डे, नवीन सिंह, गाउँपालिका उपप्रमुख बबिता सिंह, युवा नेता विनय भुषण दुबेदी लगायत पालिकाको कर्मचारी तथा स्थानीय महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकार सुनील पण्डित लगायत महिलाहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए ।