बाढीपहिरोबाट १७ हजार जनाको उद्धार, २३६ जनाको मृत्यु

108

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।
यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।

यातायातका साधन सहज रुपमा सन्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी छ । सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् । ११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ ।

९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.