पर्साको पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सरकारको निर्णय
काठमाडौँ– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शै्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शै्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।
वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उहाँले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु भएको छ ।