गौतम स्कुलको स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न, नयाँ स्मार्ट भवन उद्घाटन

59

वीरगञ्ज । गौतम स्कुलले आफ्नो ५०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। उत्सवको अवसरमा फाउन्डर डाइरेक्टर सोनम लामा र फाउन्डर उर्मिला लामाले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमकै क्रममा विद्यालयको नयाँ सुविधा सम्पन्न भवन पनि उद्घाटन गरिएको छ। फाउन्डर सोनम लामाका अनुसार नयाँ भवनमा आधुनिक प्रविधिसहित कक्षा १० का विद्यार्थीहरूलाई मात्र अध्यापन गरिनेछ। डिजिटल माध्यमबाट शिक्षण व्यवस्था लागू गरिने र ‘स्मार्ट क्लास’ अवधारणाअनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिने उनले बताए।

उत्सवका क्रममा विगतका संघर्षपूर्ण दिनहरू सम्झँदै संस्थापक सोनम लामा र उर्मिला लामा भावुक बनेका थिए। वीरगञ्जलाई शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित लामो समयदेखि गरिएको प्रयासले आज सफलता पाएको उनीहरूको भनाइ थियो। अभिभावक, शिक्षक, समाजसेवी तथा बुद्धिजीवीहरूको साथ र सहयोगकै कारण विद्यालयले ५० वर्षको गौरवपूर्ण यात्रा पूरा गरेको उनीहरूले उल्लेख गरे।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा ‘५०’ आकृतिमा उभिएर बेलुन उडाउँदै उत्सवलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रममा विद्यालयका सञ्चालक सोनम लामा, परीक्षा प्रिया लामा, प्रिन्सिपल गणेश क्षेत्री, प्याप्सन पर्साका जिल्ला अध्यक्ष सरोजप्रसाद चौधरी, वरिष्ठ सल्लाहकार मनि पाख्रिन, लालबाबु पटेल, पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डा। दीपक शाक्य, समाजसेवी पशुपति विक्रम शाह, उषा शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.