स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा सम्पन्न, २१ हजार नगद सहित पत्रकार मनोज पटेल सम्मानित
मंसिर १६, वीरगन्ज आनन्द पटेल
स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आईतबार वीरगन्ज स्थित रेडियो वीरगञ्जको प्राङ्गणमा सम्पन्न भएको छ । यस वर्षको नरेश स्मृति पुरस्कार समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पोस्ट डेलिका सञ्चालक पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । उनलाई २१ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनी विगत डेढ दसकदेखि सक्रिय रूपमा विभिन्न सञ्चार क्षेत्रमा आबद्ध भएर कलम चलाउँदै आएका छन ।
कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निर्धक भएर कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरेका थिए । उनले पत्रकारिता क्षेत्रमा निक्कै चुनौती पनि रहेको र पत्रकारले सही विषय उठान गर्दा अनेक किसिमका समस्याहरू पनि झेल्ने गरेको बताए । पूर्व प्रधानमन्त्री नेपालले सधैं नराम्रा विषय मात्र होइन राम्रा र सकारात्मक समाचारले पनि समाजमा परिर्वतन ल्याउन स्कने हुनाले सकारात्मक समाचार लेख्न पनि पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमनी सुवेदीले स्वर्गीय नरेश सराफको निधनले सिंगो प्रेस जगतमा ठूलो क्षति पुगेको बताए । उनले स्वर्गीय नरेश सर्राफले देखाएका सही बाटोलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले स्वर्गीय नरेश सराफ कुनै एक संगठनको नभई उनी सबै पत्रकारहरुको नजदीकका एउटा व्यक्तित्व थिए । साच्चिकै उनको निधनले आम सञ्चार क्षेत्रमा ठूलो क्षति भएको बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जाराले स्वर्गीय नरेश सराफ एउटा असल र निडर पत्रकारको रुपमा परिचित थिए र अब हामी सबै पत्रकारहरु मिलेर उनको परिवारलाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । साथै उनले यशी मंसिर २८ गते हुन गईरहेको पत्रकार महासंघको र्निवाचनको तयारीमा जुटन सबै संचारकर्मीलाई आग्रह समेत गरे ।
कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सराफ रेडियो वीरगञ्जका सञ्चालक धुर्ब साह, प्रेस युनियनका अध्यक्ष विजय चौहान, प्रेस चौतारीका अध्यक्ष विजय भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका उपाध्यक्ष युवराज खड्का, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साह, पत्रकार वृजलाल पासवान लगायत विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु शुमनको अध्यक्षतामा सम्पन्न भएको थियो ।