नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन शिलान्यास, सुविधा सम्पन्न भवन बनाइने मन्त्री महतोको प्रतिबद्धता

62

जेष्ठ १५ जनकपुरधाम।  गणतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रादेशिक भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवन मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न भवनका रूपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले महासंघ, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा ले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियान सुरु भएको बताए। उनले नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माणको ऐतिहासिक काम अघि बढेको उल्लेख गरे।

अध्यक्ष बन्जाराले महासंघको निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण अघि बढाइएको भन्दै छिट्टै आधुनिक तथा सुविधा सम्पन्न भवन सम्पन्न हुने विश्वास व्यक्त गरे।

“अग्रजहरूले देखेको सपना पूरा गर्ने काम सुरु भएको छ। महासंघको चुनावका बेला गरेको प्रतिबद्धता अनुसार प्रदेशको भवन निर्माण कार्य अघि बढाइएको हो,” उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, स्वतन्त्र सेनाी राम भरत, केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आम सञ्चार प्राधिकरणका जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायतको उपस्थिति रहेको थियो।

महासंघका महासचिव शैलेन्द्र महतो ले कार्यक्रमको सहजीकरण गरेका थिए। प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको अध्यक्ष बन्जाराले जानकारी दिएका  छन् ।

Leave A Reply

Your email address will not be published.