विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गतेसम्म जारी रहने
वीरगञ्ज । महागढीमाई नगरपालिका–१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ । हालसम्म एक करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।
पशु बलिका लागि विश्वभर परिचित गढीमाई मेला नेपाल र भारत मात्र होइन, अन्य धेरै देशका भक्तजनहरूको पनि गन्तव्य बनेको छ । भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा राँगा र बोकाको बलि चढाउने परम्पराअनुसार पूजा अर्चना गर्ने गरेका छन् ।
मेला स्थलमा अझै ठूलो भीड देखिएको छ । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार, माघ ५ सम्म थप १५ लाख दर्शनार्थी मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । उनका अनुसार, मङ्सिर महिनाको अत्यधिक भीडका कारण कतिपय दर्शनार्थी अहिले माघको सुरुवातमा मेला हेर्न आउने गरेका छन् ।
सुरु भएदेखि नै २०८१ सालको गढीमाई मेला शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र यसलाई माघ ५ सम्म सफलतापूर्वक सम्पन्न गरिनेमा प्रमुख यादवले विश्वस्त छन् ।
मेला स्थलमा दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ । बिजुली बत्ती, सिसिटिभी, शौचालय, निःशुल्क वाईफाई, मन्दिर वरिपरिका पार्किङ र ट्राफिक व्यवस्थापनदेखि निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, वारुणयन्त्र, घुम्ती एटिएम र भोजनसमेतको सुविधा उपलब्ध छ । विश्वकै अद्वितीय धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा गढीमाई मेला सबैलाई आकर्षित गरिरहेको छ ।