पर्सा राष्ट्रिय निकुञ्जमा एक घरपालुवा हात्तीको आक्रमणबाट माउते घाईते
वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जमा पालिएको एउटा घरपालुवा हात्तीले माउतेलाई नै आक्रमण गरेको छ।
निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट एकजना माउते घाइते भएका हुन्।
पर्सा राष्ट्रिय निकुञ्ज पर्ने मकमवानपुरको मनहरी गाउँपालिका–६ स्थित सबुज गणको पोष्टमा पालिएको हात्तीलाई दाना खुवाउने क्रममा बुधबार दिउँसो ४ बजेतिर हात्तीको आक्रमणबाट माउते घाइते भएका हुन्।
घाइते हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी रहेका प्रहरीले जनाएको छ।
हात्तीलाई दाना–पानी खुवाउने क्रममा चौधरीलाई हात्तीले आक्रमण गरेको हो। अकस्मात हात्तीले सुडले प्रहार गर्दा उनको शरीर र कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।
घाइते चौधरीलाई तत्काल चितवनको पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
माउतेलाई आक्रमण गर्ने हात्तीलाई घटनास्थलमै बाँधेर राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।