एनआई कप अन्तर कलेजको उपाधि नेशनल इन्फोटेकलाई

395

आयोजक नेशनल इन्फोटेक कलेजले एनआई कप अन्तर कलेज टी(२० क्रिकेटको उपाधि जितेको छ। वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई ६१ रनले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो।

१०९ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको ग्लोबल बिजनेस कलेजले १४।१ ओभरमा अलआउट हुँदै ४७ रनमै समेटिएपछि उपाधि आयोजकको पोल्टामा पुग्यो। ग्लोबलका लागि विवेक यादवले १० र रोहन साहले ७ रन बनाउनु बाहेक अन्य व्याटरले खासै रन जोड्न सकेनन्।

बलिङतर्फ आयोजक नेशनलका वासिम अली मन्सुरी र अरबाज अन्सारीले तीन(तीन विकेट लिए। एमडी सरिफ अन्सारीले भने १ विकेट लिए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको आयोजक नेशनलले १९।५ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो। उसका लागि राहुल हकले सबैभन्दा बढी ३२ रन बनाए। सफवान अलीले २५ र वासिम अली मन्सुरीले २० रन जोडे। बलिङतर्फ ग्लोबलका आदर्श भण्डारी, रोहन कुमार साह, अनुज कुमार पटेल र विवेक यादवले समान दुई(दुई र सुजल सर्राफले १ विकेट लिए।

प्रतियोगितामा १७ विकेट लिन सफल आयोजक नेशनलकै वासिम अली मन्सुरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट ब्याटर नेशनलकै सफवान अली तथा उत्कृष्ट बलर हेटौंडा स्कुलका प्रिन्जल उपाध्याय घोषित भए। उत्कृष्ट फिल्डर ग्लोबल बिजनेश कलेजका आदर्श भण्डारी घोषित भए। उत्कृष्ट विकेट किपर हेटौंडा स्कुलका साहेब यादव घोषित भए।

Leave A Reply

Your email address will not be published.