अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

80

काठमाडौँ, ३१ असार , अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।

स्थानीय समय अनुसार शनिबार राति करिब ९ बजे भारी वर्षा भइरहेको बेला दुर्घटना भएको लुइजियाना राज्य प्रहरीले जनाएको छ । यादवले चलाइरहेको सन् २०१० को होन्डा एकर्ड कार युएस हाइवे ८० मा पूर्वतर्फ गइरहेको थियो । अचानक नियन्त्रण गुमाउँदा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको र त्यसलगत्तै गाडीमा आगो लागेको थियो ।

कारमा सवार अन्य दुई जना विद्यार्थी भने घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अहिलेसम्म मृतक विद्यार्थीहरूको नेपालको स्थायी ठेगाना खुल्न सकेको छैन, यद्यपि उनीहरू दुवै नेपाली नागरिक भएको पुष्टि भएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

विश्वविद्यालयद्वारा शोक व्यक्त
यस दुःखद घटनापछि लुइजियाना टेक विश्वविद्यालयले गहिरो शोक व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको निधनप्रति दुःख व्यक्त गरेका छन् र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.