खानेपानी संकट समाधानका लागि मधेश सरकार सक्रिय, वीरगञ्ज लगायत क्षेत्रमा पठाइयो ८ वटा वारुणयन्त्र

87

जनकपुर । मधेश प्रदेश सरकारले वीरगञ्ज सहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि पहल सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज)  पठाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले वारुणयन्त्रहरुलाई प्रभावित क्षेत्रतर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्णरूपमा सरकार क्रियाशील रहेको जानकारी दिए ।

एउटा वारुणयन्त्र ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एक पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिने सिंहले बताए । खानेपानी समस्या रहेको स्थानमा उक्त वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहनेछन् । सो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्नेछ ।

यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । यसैगरी खानेपानी समस्या रहेका अन्य क्षेत्रहरुमा नेपाली सेनासंग समन्वय गरी ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको सिंहले जानकारी दिए ।

सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको उनको भनाइ छ ।

विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायसँगको समन्वयमा साधनस्रोतको अधिकतम प्रयोग गरी नागरिकको समस्या समाधान गर्नेतर्फ प्रयत्नशिल रहेको सिंहले बताए ।

Leave A Reply

Your email address will not be published.