मन्त्री पटेलको प्रतिबद्धता : पर्यटन प्रवर्धन र लगानी सुरक्षामा सरकार गम्भीर

56

महोत्तरी, साउन २७ — मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले प्रदेशमा पर्यटन प्रवर्धन, लगानीको सुरक्षा तथा संरक्षण र अनुगमन प्रणाली सुधार गर्न उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलको ध्यानाकर्षण गराएका छन्।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (FONHATE) मधेस प्रदेशको संयोजन तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) मधेस प्रदेश र होटल संघ नेपाल (HAN) मधेस प्रदेशको समन्वय तथा सहकार्यमा महोत्तरीको लालगढ स्थित गौतम होटलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

FONHATE मधेस प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा व्यवसायीहरूले मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय तथा मातहतका निकायबाट हुने अनुगमनका क्रममा देखिएको ‘छापामार शैली’प्रति असन्तुष्टि जनाउँदै त्यसबाट व्यवसायीमा परेको प्रभावबारे मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए। उनीहरूले अनुगमनलाई सुधारात्मक र समन्वयात्मक बनाउनुपर्ने, पूर्वसूचनासहित अनुगमन गर्नुपर्ने तथा जरिवानासम्बन्धी विषयमा स्पष्ट र व्यावहारिक समाधान खोजिनुपर्ने माग राखेका थिए।

सोही क्रममा FONHATE मधेस प्रदेशका संस्थापक महासचिव तथा NATTA मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले समग्र निजी क्षेत्रको पैरवी गर्दै होटल तथा पर्यटन व्यवसायीका विभिन्न माग र सुझाव समेटिएको ध्यानाकर्षण पत्र मन्त्री पटेललाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बारा निजगढका सल्लाहकार युवराज लामा, जनकपुरधाम धनुषाका विजय झुनझुनवाला लगायत पर्यटन तथा होटल व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

व्यवसायीहरूले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहे पनि लगानीको वातावरण, व्यवसाय सञ्चालनमा सहजता, अनुगमन प्रणाली तथा पर्यटन पूर्वाधारका क्षेत्रमा अझै सुधार आवश्यक रहेको बताएका थिए। धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै खानपान, स्थानीय कला–संस्कृति, पर्व तथा परम्परालाई पर्यटनसँग जोडेर प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

अन्तरक्रियामा मन्त्री कनिष पटेलले निजी क्षेत्र र प्रदेश सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रमा लगानी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीलाई अनावश्यक समस्या नहुने गरी पूर्वसूचनासहितको अनुगमन प्रणालीलाई प्राथमिकता दिने बताए।

मन्त्री पटेलले मधेस प्रदेशको पर्यटन प्रवर्धनका लागि डिजिटल माध्यमको प्रयोग बढाउने तथा धार्मिक, सांस्कृतिक रीतिरिवाज, खानपान, पर्व तथा स्थानीय पहिचानको संरक्षण गर्दै पर्यटन विकासका कार्यक्रम अघि बढाउने बताए।

उनले मार्ट, एक्स्पो, स्ट्रीट फेस्टिभल, सस्तो बजार, क्रस–बोर्डर बीटुबी (B2B) कार्यक्रम तथा अन्तरप्रदेशीय सम्बन्ध विस्तार जस्ता गतिविधि सञ्चालन गर्ने योजनासहित दिगो पर्यटन विकासमा सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पटेलले पर्यटन व्यवसायी र सरकारबीच निरन्तर संवाद तथा सहकार्यबाट मात्रै मधेस प्रदेशलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे।

कार्यक्रमले मधेस प्रदेशको पर्यटन क्षेत्रको विकाससँगै निजी क्षेत्रको लगानी संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा सरकार र व्यवसायीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.